काठमाडौं। जिल्ला समन्वय समिति खोटाङको टोलीले महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काममा भएको ढिलासुस्तीका विषयमा अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, शैक्षिक अभियान्ता सुर्यबहादुर राई लगायतको टोलीले भारत कन्ट्रक्सन।सिद्धी शाही जेभीको ढिलासुस्तीका कारण अलपत्र परेको महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड अनुगमन गरेको हो । भारत कन्ट्रक्सन।सिद्धी शाहीले निर्माणस्थलबाट क्रसर र अन्य मेसिन उठाएर अन्यत्र लगेपछि जिल्ला समन्वय समितिको ध्यानाकर्षण भएको हो ।
उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर०)खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन।सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए ।
भारत कन्ट्रक्सन।सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो ।
जिल्ला समन्वय समितिको टोलीले बुईपामा निर्माणाधिन एलम्बर पार्क र उपयोग विहिन बनेको कोल्ड स्टोर (चिस्यान केन्द्र) निरिक्षण गरेको छ ।