संखुवासभा। माथिल्लो अरुण जलविद्युत् आयोजनाका कारण विस्थापित हुनेहरूलाई मुआब्जा वितरण गर्न सुरु गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको १०६१ मेगावाटको जलविद्युत् आयोजनाकाबाट प्रभावित हुनेलाई मुआब्जा दिन सुरु गरिएको हो।
आयोजना निर्माण क्षेत्र भोटखोला–२ र ५ का ३८५ परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण गर्न सुरु थालिएको छ।
हालसम्म ११४ परिवारलाई ५३ करोड ४७ लाख १५ हजार ६६२ मुआब्जा वितरण गरिसकिएको छ।
माथिल्लो अरुण जलविद्युत् परियोजना सञ्चालनका लागि दुई हजार ५८६ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । उक्त जग्गालाई चार प्रकारमा वर्गीकरण गरी छुट्टाछुट्टै मूल्य निर्धारण गरेर मुआब्जा वितरण गर्न सुरु गरिएको हो । अलैँची बगान, पाखाबारी, कोसी राजमार्गले छोएको र कोसी राजमार्गले छोएको बस्तीसहितको जग्गा गरी चार किसिममा वर्गीकरण गरिएको हो ।
अलैँची नभएको पाखाबारीलाई प्रतिरोपनी सात लाख, अलैँचीसहितको बारीलाई नौ लाख, उत्तर दक्षिण कोसी राजमार्गले छोएको जग्गालाई १० लाख र कोसी राजमार्गले छोएको बस्तीसहितको जग्गालाई १५ लाख रुपैयाँ निर्धारण गरी मुआब्जा वितरण गर्न सुरु गरिएको हो ।