काठमाडौं। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा र ९ औं अधिवेशन आगामी फागुनमा हुने भएको छ। संघले एक सूचना जारी गर्दै आगामी फागुन १२ गते राष्ट्रिय सभा गृहमा साधारण सभा हुने जानकारी गराएको हो।
संघको अधिवेशनका लागि फागुन १३ गते काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको कार्यालय, अनामनगरमा उमेदवारी दर्ता गर्न सकिने संघका महासचिव शान्तकुमार श्रेष्ठले जानकारी दिए। संघको निर्वाचन फागुन १४ गते राष्ट्रिय सभा गृहमा हुने सूचनामा उल्लेख गरिएको छ।
फागुनमा साधारण सभा, अधिवेशन र रजत महाेत्सव हुने भएकाले संघका सदस्यहरुले दर्ता नविकरण र नयाँ सदस्यता दर्ता माघ मसान्तभित्र नै गरिसक्नु पर्ने बताइएको छ। त्यसैगरी संघले फागुन १४ गते मतदानका लागि सहभागी हुन आउँदा अनिवार्य परिचय खुल्ने कागजात लिएर आउन आफ्ना सदस्यहरुलाई आग्रह समेत गरेको छ।
साथै संघको रजत महोत्सवको अवसरमा प्रकाशन हुन लागेको स्मारिकाको लागि निर्माण सम्बन्धि लेख रचना भएमा माघ मसान्तभित्र संघको कार्यालयमा उपलब्ध गराउन समेत संघले निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ।
