मोरङ। विराटनगर महानगरपालिका पार्किङ व्यवस्थापनको निर्णयबाट पछि नहट्ने भएको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाले व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने बताएका हुन्।
महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ।
विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ छ । उनले हरेक पार्किङस्थलबाट दुईदेखि तीन मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था रहेको बताए। साथै उनले विराटनगरलाई व्यवस्थित बनाउन व्यवसायीहरुको सहयोग आवश्यक पर्ने समेत बताएका छन्।
बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको अवस्थामा सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहजरूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको प्रमुख कोइरालाको भनाइ छ ।