कपिलवस्त। कपिलवस्तुको बाणगंगा नदीमा बाँध निर्माण कार्य सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी ११ करोड लागतमा प्रगति चार मौजा सिँचाइ योजना निर्माण भएको हो ।
निर्माण सम्पन्न भएको बाँधको एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले समुद्घाटन गरेका छन्। पन्थीले सिँचाइका संरचनामा स्थानीयको संरक्षण नहुँदा कतिपय योजना अलपत्र परेको बताए।
सिँचाइको दीर्घकालीन विकास र उच्चतम प्रयोगका लागि चुरे क्षेत्रमा बाँध निर्माण गरी वर्षातको पानी जम्मा गरी सिँचाई गर्नेखालका योजनामा प्रदेश सरकारले चासो दिने बताए । संविधान सभा सांसद विश्रामप्रसाद थारुले बाँध निर्माणले किसानलाई राहत पुगेको र नाला निर्माणका लागि थप लगानी गर्नुपर्नेमा जोड दिए ।
बाणगंगा नगरप्रमुख चक्रपाणि अर्यालले नगरबाट साना सिँचाइको योजनामा लगानी गरेको र ठूला योजनामा प्रदेश र सङ्घीय सरकारसँग माग गरेको बताए । सिँचाई आयोजना समितिका अध्यक्ष शशी सापकोटाले ११ करोड बढीको लागतमा नाला र बाँध निर्माण भई ५ सय १२ कृषक प्रत्यक्ष लाभान्वित हुने बताइन् । सो स्थानमा स्थानीयले २ दशकदेखि स्याउला र ढुङ्गा राखेर बाँध बनाई सिँचाई गर्दैआएका थिए ।
२०७३ सालबाट बाँध निर्माणको काम सञ्चालन भएको थियो ।