काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन्। बिहीबार बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा सुधार भए नभएको विषयमा बुझ्न स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री किराँतीले तेस्रो पटकको भ्रमण तथा अनुगमनमा विमानस्थलको तुलनात्मक सुधार भएको र यसले आफूलाई थोरै भएपनि खुसी मिलेको बताए। उनले २४ सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने कामदारलाई समेत धन्यवाद दिएका छन्।
एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले व्यक्त गरे। हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताए । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए।
उनले भने, ‘यहाँ भएका सुधारहरू मेरा लागि होइन । तपाईंहरुको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’