मकवानपुर। बागमती सरकारले प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। बुधबार प्रदेशका ७ वटा अस्पतालाई ‘ख’ वर्गको कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्स तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा खरिद गरिरएको थियो । भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल चितवनलाईं ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्स हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । उनले गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिकहरुको स्वास्थ्यमा पहुँचमा पुर्याउन सरकार गम्भीर भएर काम गरिरहेको बताए । नागरिकको उचित स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार प्रतिसरकार गम्भीर रहेको र सरकारलाई उक्त दायित्वबोध भएकाले त्यसका लागि नीतिगत रुपमा अघि बढ्ने तयारी भएको बताए ।