काठमाडौं। सोलु करिडोरअन्तर्गत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ३ जयराम सोलुदूधकुण्ड खण्डमा सुक्खा पहिरो झर्दा दूधकोशी थुनिएको छ। वडा ३ उँबुका अध्यक्ष मेडल राईका अनुसार पहिरोले कोशी थुनिएको र विस्तारै पानीको बहाव बढ्दै जाँदा त्यस क्षेत्रका १२ घर जोखिममा परेका छन्।
अध्यक्ष राईले अहिलेनै ताल जमेर करिब चार मिटर उचाइ बहाव बढेको जानकारी दिए। तीन वर्ष अगाडि नै सडक खन्न सुरु गरिएको थियो,वर्षातको समयमा मात्र थोरै थोरै माटो झरेको थियो,यसपालि धेरै वर्षा भयो,त्यसैले होला अहिले सुक्खा पहिरो झर्दैछ उनले बताए।
उनका अनुसार तत्कालै थुनिएको पानी निकास दिन नसके आफैँ फुटेर वडा ३ क्षेत्र,जयराम बजार प्रभावित हुने देखिएको छ। त्यस्तै,खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा १ क्षेत्र पनि प्रभावित हुने उनले बताए।
खोटाङबाट काठमाडौं जाने सवारीसाधन जयाराम हुँदै जाने हो,अब यही समस्याका कारण जाननै नपाउने अवस्था आउन लागेको छ, उनले भने, थुनिएको ताल कसरी निकास दिने भन्नेबारे सडक डिभिजन हर्कपुरसँग छलफल भइरहेको उनको भनाइ छ।