झापा । भुटानी शरणार्थीको सम्झनामा दोमुखामा नेपाल–भुटान जनमैत्री बुद्ध वाटिका निर्माण गरिएको छ । भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले भुटानी शरणार्थीको सम्झनामा बुद्ध वाटिका निर्माण गरेका हुन् ।
कनकाई नगरपालिका २ मा पर्ने धनुष्कोटी क्षेत्रमा पर्ने वाटिकामा भुटानका राजारानीको तस्बिरसहित भुटानी राष्ट्रिय झण्डा, राष्ट्रको मानचित्रसहितका स्मृतिचिन्ह वा पोट्रेट राखेर शरणार्थीको हैसियतमा नेपाल आएर वा भुटान सरकारको नेपालीभाषीमाथिको जातीय सफाया क्रममा ज्यान गुमाएका सबै आफन्तलाई स्मरण गरिएको छ ।
सन् १९९० को दशकमा भुटानबाट लखेटिएर भारतीय बाटो हुँदै नेपालको पूर्वी सिमानामा ल्याएर थुपारिएका नेपालीभाषी भुटानीमध्ये गाँसबासको अभावमा कतिपय बाटैमा मरे, कति भने माई किनारामा आएर शरणार्थी हैसियतमै ज्यान गुमाए ।
माईको बगरमैं र आसपासका शिविरमा १ हजारभन्दा बढी ससाना नानीहरुले रोग–भोककै कारण ज्यान गुमाएको अलिखित इतिहास अझै ताजै रहेको बताउँदै बिर्तामोडवासी नेता रिजालले ती सबै अकालमा मरेका वा मारिएका नेपालीभाषी भुटानीमा समर्पित गरेर आफैंले स्रोतसाधन जुटाउँदै यो वाटिका निर्माण गरेको जानकारी दिए ।