काठमाडौं। १३ अर्बको खानेपानी क्षेत्र सुधार र पूर्वाधार सहयोग आयोजना शुभारम्भ गरिएको छ। खानेपानी मन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले शुक्रबार संयुक्त रूपमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाको शुभारम्भ गरेका हुन् ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहलगानी २ करोड अमेरिकी डलर तथा तथा विश्व बैंकको ८ करोड अमेरिकी डलर सहुलियत ऋण सहयोगमा कुल १० करोड अमेरिकी डलर (करिव १३ अर्ब २० करोड रुपैयाँ) लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन गरिने भएको छ।
यस आयोजनाले सहभागी पालिकाहरूमा सुधारिएको र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्ने तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
नेपालले आत्मसात गरेको संघीयताको सिद्धान्त अनुरूप दिगो र समतामूलक विकास प्रक्रियामा टेवा पुर्याउने हेतुले कार्यान्वयन गरिने यस आयोजना सम्बन्धी कार्याक्रमहरूको योजना तर्जुमा र कार्यान्वयन समेत स्थानीय पालिकाहरूको अग्रगामित्वमा सञ्चालन गरिनेछन् । यस आयोजनाले स्थानीय स्तरमा सेवा प्रवाह र सोसँग सम्बन्धित संस्थागत क्षमता सुदृढीकरणलाई जोड दिनेछ ।