म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जासम्म पुग्ने सडक निर्माण गर्न सुरु गरिएको छ। धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा वडा नं २ मा पर्ने लमसुङदेखि लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माण थालिएको हो।
गण्डकी प्रदेश सरकारको ८० लाख र पालिकाको ४५ लाख रुपैयाँ बजेटबाट सडक निर्माण सुरु गरिएको हो।
मुना–लुलाङ–गुर्जा सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र संघीय सरकारलाई प्रस्ताव गरेको बताइएको छ। गत वर्ष गाउँपालिकाले लुलाङदेखि गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो।
गुर्जाका वडाध्यक्ष झक छन्त्यालले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको हो।