बैतडी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा १० महिनादेखि हवाई उडान बन्द भएको छ। करिब तीन वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थल कालोपत्रे गरिएको थियो।
वि.सं. २०३६ देखि २०५२ सम्म नियमित उडान हुने गरेको पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो। विमानस्थल कालोपत्रे भएपछि गत डेढ वर्षअघि हप्ताको एक दिन बैतडी–धनगढी उडान भए पनि गएको १० महिनादेखि पुनः उडान बन्द भएको छ।
धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो। पाटनमा पुनः उडान बन्द हुँदा आकस्मिक रूपमा उपचार गर्न जाने बिरामी समस्यामा परेका छन्।
उडान सेवा सुरु हुने कुनै सुनिश्चित नभएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। आउँदो फागुनमा उडान हुन सक्ने भनिए पनि आधिकारिक जानकारी नआएको उनले बताए। हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु समस्यामा परेका छन्।
हवाई उडान नहुँदा आकस्मिक रूपमा बिरामी भएकालाई सुविधासम्पन्न अस्पतालमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय वसन्त विष्टले बताए। गोरखापत्रबाट