मुगु। कर्णाली करिडोर सडकसँग मुगुको खत्याड गाउँपालिका जोडिने भएको छ । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल बनेपछि खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध जोडिनेछ ।
खत्याड गाउँपालिका र कर्णाली प्रदेश सरकारको करिब ३ करोड ३५ लाख रुपैयाँ बजेटबाट हुम्ला कर्णाली नदीमा ६० मिटरको बेलिब्रिज निर्माण हुँदै छ । पुल निर्माणको ठेक्का लिएको जल्पा।रविचक्र जेभीले फागुन पहिलो साताभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।
पुल निर्माण भए बाह्रै महिना यातायात सञ्चालन हुने र आसपासका दर्जन गाउँका बासिन्दालाई सुविधा पुग्ने स्थानीय कमल शाहीले बताए । ‘पक्की पुलले पैदल दूरी पनि छोट्याउने अपेक्षा छ, गाउँसम्म गाडी चले घण्टौं हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्थो,’ उनले भने, ‘गाउँको उत्पादनले सहजै बजार पाउँथ्यो ।’
पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो हुने नरहरिनाथ गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बताए । ‘पुल नहुँदा खनिएको सडक पनि प्रयोगमा थिएन,’ उनले भने, ‘अब निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र यात्रुलाई आवागमन गर्न सजिलो हुनेछ ।’ उनका अनुसार सुकाढिक झुगलादेखि निमालबोटसम्म सडक निर्माण भइसकेको छ । पुल बनेपछि कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निमालबोटसम्म पुग्नेछन् । कान्तिपुरबाट