धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ मा निर्माण हुने सुक्खा बन्दरगाहको निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा प्रधानमन्त्री प्रचण्डले बन्दरगाह सुदूरपश्चिमको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताएका छन्।
उनले दोधारा–चाँदनीमा बन्ने बन्दरगाहलाई त्रिदेशीय नाकालाई फाइदाका रूपमा विकास गरेर भारत र चीनको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले आफू छिट्टै भारत भ्रमणमा जाने र त्यस क्रममा सुक्खा बन्दरगाह निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने समेत बताए। उनले तीन वर्षभित्र काम सक्ने गरी समझदारीपत्र तयारी भइरहेको समेत बताएका छन्।
सुक्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात आफूले नै गरेको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणपछि दोधारा–चाँदनी र सुदूरपश्चिमको मात्रै नभई सिङ्गो देशकै विकासमा योगदान पुग्ने बताए। प्रधानमन्त्रीले सुदूरपश्चिममा आफैंले थुप्रै आयोजना अगाडि बढाएको र सबै विकासका कामलाई प्राथमिकतासाथ अगाडि बढाउने प्रतिबद्धता जनाए।