मोरङ। विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको नयाँ र आधुनिक टर्मिनल भवन बन्ने भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गरेका हुन्।
दुई अर्ब ४२ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी केसी–डाँफे जेभीले भवन निर्माणको ठेक्का पाएको छ।
त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल भवनपछि दोस्रो ठूलो भवनको रुपमा बन्ने नयाँ टर्मिनल १६ हजार २७७ वर्गमिटरको हुने बताइएको छ। नयाँ टर्मिनल भवनसँगै विराटनगर विमानस्थलको धावनमार्ग पनि २७० मिटर विस्तार गरिनेछ । अहिले एक हजार पाँच सय मिटर धावनमार्ग विस्तारपछि एक हजार ७७० मिटर हुने बताइएको छ।
२०२५ सालमा निर्माण भएको विमानस्थलको टर्भिनल भवनबाट सेवा प्रवाहमा समस्या हुन थालेपछि सरकारले नयाँ भवन निर्माण गर्न लागेको हो । नयाँ भवन अहिले भएको टर्मिनल भवनबाट करिब ५० मिटर उत्तरतर्फ निर्माण गरिनेछ । नयाँ टर्मिनल भवन एक हजार आठ सय यात्रु क्षमताको हुने बताइएको छ ।