झापा। जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा सडक ४४ वर्षपछि कालोपत्रे हुने भएको छ। झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बू र शिवसताक्षी नगरका प्रमुख मेघाहाङ्ग थोप्राले मंगलबार सडक कालोपत्रेका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन्।
शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख र संघीय समपूरक कोषको २ करोड गरेर ४ करोड २४ लाख लागतमा सडक कालोपत्रे हुने भएको हो। ढलरहित ७ मिटर चौडाइ कालोपत्रे सडक २९ सय मिटर लामो रहेको छ।
सो सडकमा कालोपत्रे बाहिरको ८ मिटर सडक ग्राभेल हुनेछ। तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने बताइएको छ। आगामी असार १५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ।