काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन यातायात बन्द गरिने भएको छ। सो सडक दिउँसोको समयमा यातायात बन्द गरिने भएको हो।
पुल निर्माणका क्रममा भित्तो काट्न समस्या भएपछि थप १५ दिन यातायात बन्द गरिने भएको छ।
गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । अझै समस्या भएपछि थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको बताइएको छ।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । सो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का अनुसार भित्तो काट्न समस्या हुने भएपछि विस्फोट गर्नका लागि फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ । उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृत भएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको छ।