वीरेन्द्रनगर। वीरेन्द्रनगरमा निमार्णाधीन चक्रपथ निर्माणको काम ४ महिनादेखि ठप्प भएको छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बांगेसिमल जोड्ने गरी चक्रपथ निर्माणको काम थालिएको थियो ।
चक्रपथ निमार्णको क्रममा व्यक्तिको जग्गा र वनक्षेत्र परेपछि निर्माणको काम रोकिएको हो । पहिले काम भए पनि अहिले बीचमै रोकिएको चक्रपथ योजना हेरिरहेको सडक डिभिजन कार्यालय रूकुम पश्चिमका सवइन्जिनियर असल ऐडीले बताए । उनका अनुसार वीरेन्द्रनगरका ९, १०, ११ र २ वडामा निजी घरजग्गा परेकोले उनीहरूले सडक निर्माणमा असन्तुष्टि जनाएका छन् । ‘कुनै ठाउँमा वन क्षेत्र पनि परेको छ, जग्गा विवादले गर्दा काम हुन सकेको छैन,’ उनले भने, ‘केही दिनअघि वडाध्यक्षहरू, ठेकेदार र स्थानीयबीच छलफल गराइए पनि अझै निष्कर्ष निस्किएको छैन ।’
सडक डिभिजन कार्यालयका अनुसार अहिलेसम्म चक्रपथ निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ । झन्डै २८ किलोमिटर सडकको ट्र्याक खोलिएको छ भने ग्राभेल पनि भएको छ । चक्रपथका लागि ३८ किलोमिटर सडकको काम गर्नुपर्ने उनको भनाइ छ । चक्रपथ निर्माणका लागि पहिलो ठेक्का सम्झौता आर्थिक वर्ष २०७४।७५ मा भएको हो । त्यसबेला सडक डिभिजन कार्यालय सुर्खेतले यो योजना हेरेको थियो । तर पछि २०७७ सालबाट सडक डिभिजन कार्यालयले काम हेरिरहेको छ । विगतमा संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गर्छ भने निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको हो । अहिले १३ करोड रुपैयाँ बजेटबाट निर्माण सम्झौता भएको छ ।
नगरपालिकाभित्रको योजना भएकोले नगरपालिकाले यसको विवाद समाधानको प्रयास गरे पनि सफल हुन सकेको छैन । केही समयअघि एक ठाउँको विवाद सुल्झाएको नगर उपप्रमुख नीलकण्ठ खनालले बताए । ‘एक ठाउँ विवाद मिल्छ, फेरि अर्को ठाउँको विवाद सुरु हुन्छ,’ उनले भने, ‘व्यक्तिकै जग्गा धेरै परेकाले जग्गाधनीसँग कुरा नमिल्दा समस्या भइरहेको छ ।’ वडाध्यक्षहरूलाई विवाद समाधानको लागि छलफल गर्न आग्रह गरिएको उनले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै ट्र्याक खोल्ने काम गरिसक्ने नगरपालिकाको लक्ष्य छ । कान्तिपुरबाट