दार्चुला। महाकाली नदीमा दुई वटा झोलुंगे पुल निर्माण भएका छन्। उक्त नदिमा नेपाल–भारत जोड्ने दुई झोलुंगे पुल निर्माण भएका हुन्।
निर्माण सम्पन्न भएका दुई वटै पुलको उद्घाटन गरिएको छ। नेपाल सरकारले व्यास गाउँपालिकामा निर्माण गरेको दुई झोलुंगे पुलको नेपाल भारतका अधिकारीले बिहीबार उद्घाटन गरेका हुन् ।
सीमा पुलको उद्घाटन दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीले संयुक्त रुपमा गरेका थिए । नेपाल सरकारले मलघट्टेमा १ सय २० मिटर लामो र मालघाटमा १ सय ४० मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो ।
व्यास गाउँपालिका २ मालगाउँ र वडा नम्बर ४ मलघट्टे क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि बिहीबारबाट सञ्चालनमा ल्याएका छन् । अब औपचारिक रुपमा पुल उद्घाटन गरी नियमित सञ्चालनमा आएपछि स्थानीयको नेपाल–भारत आवतजावतमा सहजता आएको व्यास गाउँपालिकाले जनाएको छ।