कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा ४ वर्षअघि निर्माण गरिएको थारु संग्रहालयको भवन प्रयोगबिहीन बनेको छ। सङ्ग्रहालय सञ्चालनका लागि तीनै तहको सरकारले चासो नदिँदा भवन बनेको लामो समय बित्दा समेत प्रयोगमा आउन नसकेको हो।
थारु संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले विजयनगर गाउँपालिका–२ लोहरौलामा ३७ लाख लागतमा
संग्रहालयको निर्माण गरिएको थियो। भवनको २०७६ मा निर्माण सम्पन्न भएपनि हालसम्म सञ्चालनमा आउन नसकेको हो।
संग्रहालयमा थारु समुदायको बेग्लै पहिचान रहेकाले ऐतिहासिक सामग्री सङ्कलन गरी नयाँ पुस्तालाई सिकाइ हस्तान्तरण गर्ने योजना थियो। आधुनिकताको प्रभावले गर्दा पछिल्लो समय थारु सभ्यता, परम्परागत गहना, हस्तकला, चित्रकला रहनसहनलाई संरक्षण गर्न संग्रहालयको आवश्यकता महसुस गरि भवन निर्माण गरिएको स्थानीय बताउँछन्। तर पटक पटक पहलका लागि तीनै तहका सरकारलाई आग्रह गर्दा समेत कसैले चासो नदिएपनि भवन उपयोगमा आउन सकेको छैन।