दार्चुला । महाकाली नदीमा नेपाल–भारत जोड्ने दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएका छन् । नेपाल सरकारले व्यास गाउँपालिकामा निर्माण गरेको दुई वटा झोलुंगे पुलको बिहीबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिलाधिकारी रीना जोशीले उद्घाटन गरेका हुन् ।
नेपाल सरकारले व्यास गाउँपालिका–४ मलघट्टेमा १ सय २० मिटर लामो र व्यास गाउँपालिका–२ मालगाउँ मालघाटमा १ सय ४० मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो । अब औपचारिक रूपमा पुल सञ्चालनमा आएपछि स्थानीयको नेपाल–भारत आवतजावतमा सहजता आएको छ।
मालघाट र मालघट्टेमा झोलुंगे पुल सञ्चालनले तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ । पुलको भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फ जनपद र सशस्त्र प्रहरीले गर्नेछ ।
मालघाटको पुलमा दुम्लिङस्थित सशस्त्र प्रहरी र मालघट्टेमा सुन्सेरा प्रहरी चौकीबाट सुरक्षाकर्मी खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महाकालीका यी दुई पुल सञ्चालनमा आएसँगै व्यासका आधा दर्जन गाउँका बासिन्दालाई तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।