डोटी। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा नेपाली सेनाले निर्माण गरेको हेलिप्याडको काम पूरा भएको छ। गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९(०८० मा सीमित कार्यक्रमअन्तर्गत पाँच लाख लगानीमा हेलिप्याड निर्माण गरेको हो।
निर्माण सम्पन्न हेलिप्याडको सोमबार उद्घाटनसँगै सेनाद्वारा गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ। हेलिप्याडको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला र भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले संयुक्तरूपमा उद्घाटन गरे।
विपद्मा परेका, जटिल अवस्थाका गर्भवती तथा सुत्केरी तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेनाले जनाएको छ।
गत मङ्सिर ८ देखि निर्माण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको भैरवप्रसाद गणले जनाएको छ । ग्रामीण क्षेत्रमा हेलिप्याड निर्माण हुँदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गडसिलाले बताए। उनले नेपाली सेनाले निर्माण गरेको हेलिप्याडको गाउँपालिकाले पूर्णरूपमा संरक्षण गर्ने बताए ।