कपिलवस्तु। कपिलबस्तु जिल्लाका बाणगंगा नगरपालिकाको कोइली नदीमा पुल निर्माण भइरहेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका –७ र ९ जोड्ने कोइली नदीमा उक्त पुल निर्माण भइरहेको हो।
सो नदीले पुल नहँदा वर्षाका बेला बाढीले सवारी साधन र मानिस बगाउने गरेको थियो। लुम्बिनी प्रदेश सरकारबाट करिब ९ करोडको लागतमा निर्माण हुने पुल चालु आर्थिक वर्षमा काम सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सो पुल निर्माण गर्ने जिम्मा सिद्धार्थ दर्शन हिमाल जेभी कन्स्ट्रक्सन बुटवलले ठेक्का पाएको थियो ।
निर्माणको काम सुरु भएपछि निर्माणस्थलमा व्यक्तिगत जग्गा परेको भन्दै स्थानीयले मुद्दा दायर गरेपछि निर्माणको काम रोकिएको थियो । सर्वोच्च अदालतले पुल निर्माण गर्ने फैसला गरेपछि काममा तीव्रता बढाएको बताइएको छ।
सो सडकले बाणगंगा नगरपालिकाबाट अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा १२ डोहोटे जोडने हुँदा अर्घाखाँची जाने यात्रुलाई समेत सहज हुने देखिएको छ । सुरुवातमै काम रोकिए पनि तोकिएको समयमा सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।