काठमाडौं। गुण एयरलाइन्सका सबै उडानहरु बन्द भएका छन्। गत बुधबारदेखि नै बन्द रहेकाे गुण एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले समेत सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको हो।
बुधबारदेखि आफैंले बन्द गरेको गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै साथै पाइलट तालिममा रहेकाले उडान बन्द रहेको र आइतबारदेखि नियमित उडान गर्ने जनाएको थियो। तर अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणको भनाइ छ।
एयरलाइन्सले पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो। कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको प्राधिकरणले जनाएको छ ।
अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न प्राधिकरणले सोमबार नै पत्र पठाएको छ।
गुण एयरका तीन वटा जहाज सञ्चालनमा थिए। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आएका थिए।