तस्बिर: गाेरखापत्र
हेटौँडा। राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरेकी छन्। हेटौँडा अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ७० शय्याको अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेकी हुन्।
करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख लागतमा भवन निर्माण गरिएको छ। सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि उक्त अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन गर्दै आएको छ ।
अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रतिष्ठानमातहत रहेको अस्पताल अध्ययन, अनुसन्धान र नागरिकलाई गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा विकास हुने बताइन्।
उनले स्वस्थ नागरिक भएमात्र स्वस्थ र समृद्ध नेपाल बन्ने भन्दै गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिएकी छन्।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलले अझै ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै प्रदेश सरकार गुणस्तरीय सेवा नागरिकलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।