तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी बजार क्षेत्रको सडकमा दायाँबायाँ नै पैदलमार्ग निर्माण गर्न थालिएको छ। आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ नालाबाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण गर्न थालेको हो।
गाउँपालिकाले ६२ लाख ४० हजार लागतमा निर्माण गर्न लागेको पैदलमार्गका निर्माणको काम विसं २०७९ माघ १५ गतेदेखि सुरु गरिएको छ भने विसं २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो । पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।
बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना रहेको समेत गाउँपालिकाले जनाएको छ।