काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज (बिहीबार) एक सूचना जारी गर्दै ६ वटा निर्माण कम्पनीको ठेक्का तोडी कालोसूचिमा राख्ने तयारी गरेको हो।
विभिन्न पुल तथा सडकहरुको काम अलपत्र पारेको भन्दै ६ वटा निर्माण कम्पनीको ठेक्का तोडी कालोसूचीमा राख्ने तयारी थालिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार हिम सगरमाथा- बी एण्ड बी- आर वन जेभीले महेन्द्र राजमार्ग र कोशी राजमार्गमा पर्ने पुल तथा सडकको काम अलपत्र पारेको छ। यस्तै स्काई–वाइबा एण्ड लामा– मा जानकी जेभीले पनि अल्ताई होली पुल निर्माण गर्ने काम अलपत्र पारेको कार्यालयले जनाएको छ।
यसैगरी निलगिरी– महाबिर जेभीले टेङ्ग्रा खोला पुल, थालाहा खोला पुलको काम निलगिरी निर्माण सेवाले सम्पन्न गर्न सकेको छैन्। शंकरमलि– किरातेश्वरले पनि टेङ्ग्रा खोला पुलको काम अलपत्र पारेका छन्। यस्तै सीएम– रमिता–शिभ जेभीले सडक निर्माणको काम अलपत्र पारेको छ।
कार्यालयले उक्त निर्माण कम्पनीहरुलाई निर्माणकार्य समयमै सम्पन्न गर्न पटक पटक लिखित तथा मौखीक ताकेता गर्दा पनि बेवास्ता गरिएको कार्यालयले जनाएको छ। यसका साथै ती निर्माण कम्पनीहरुले निर्माणको काम सम्पन्न गर्न ताकेता नदेखाएको कारण कार्यालयले निर्माण कम्पनीसँग ठेक्का तोड्न र कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
ठेक्का सम्झौता अन्त्य गरी किन कालोसूचीमा नराख्ने कुनै पनि कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वशनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। अन्यथा, यही सूचनालाई अन्तिम ताकेता मानी ठेक्का ताडी कालोसूचिमा राखिने कार्यालयले जनाएको छ।
