हुम्ला। कर्णाली कोरिडोरको सडक कालोपत्रे हुने भएको छ। कर्णली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो।
उक्त सडक खण्डको सडक निर्माण भएर स्तरोन्नति कार्य पुरा भएपछि सडक विभागले कालोपत्रे गर्ने कार्य अगाडी बढाएको बताइएको छ। अहिले उक्त खण्ड हेर्दै आएको हिल्सा सिमकोट सडक आयोजनाले खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्रे गर्ने कार्य सुरु भएको बताएको छ। उक्त सडक खण्डमा पहिलो पटक सडक कालोपत्रे हुन लागेको हो । यसका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पुरा भएको र आगामी आर्थिक वर्ष सडक कालोपत्रे गर्ने कार्य सुरु हुने जनाइएको छ।
कालोपत्रे सडक डबल लेनको हुनेछ । डिपिआर प्रतिवेदन चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरे लगत्तै काम सुरु हुनेछ । सो खण्डको लम्बाई १२२ दशमलव ७५ किलो मिटर रहेको छ ।
यसमा कालिकोटको खुलालुदेखि बाजुराको कवाडीसम्म १८३ दशमलव ७५ किलो मिटर रहेको छ भने हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म ३९ किलो मिटर दुरी रहेको छ । पुरै सडक खण्ड कालोपत्रे गर्न चार पाँच वर्षलाग्ने अनुमान गरिएको छ। हाल आयोजनाले छ वटा प्याकेजमा यो खण्डको सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य निर्माण कम्पनी मार्फत गरी रहेको छ । यसका लागि छ वटा निर्माण कम्पनी मार्फत आठ करोड लगानी गरिएको छ ।