काठमाडौं। मुस्ताङको जोमसोममा भएको तारा एयरको जहाज दुर्घटनामा चालक दलको त्रुटि भएको पाइएको छ।दुर्घटना जाँच आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा चालक दलकै त्रुटिका कारण दुर्घटना भएको पाइएको हो।
प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो। जसका कारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन नसकेको र दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो। दुर्घटनामा परी चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो।
दुर्घटनाबारे अध्ययन गर्न सरकारले गत जेठ १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो।