काठमाडौं। पोखराको तालचोक देखि वेगनासतालसम्मको सडक निर्माण सुरु भएको छ। स्थानीयको अवरोधका कारण सम्झौताको भएको २ वर्षपछि उक्त सडक निर्माण कार्य सुरु भएको हो।
सन् २०२१ मार्चमा महानगरपालिकाले नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना सँग सडक निर्माणका लागि सम्झौता गरेको थियो। उक्त परियोजनाले टेण्डर आह्वान गरेर स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीसँग सन् २०२२ जुलाई ४ मा सडक निर्माणकार्यको सम्झौता भएको थियो । तर स्थानीय विवादका कारण निर्माण कार्यले गति लिन सकेन।
उक्त सडक २०२५ जुलाई १५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। ३.२८ किलोमिटरको सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीले ७५ करोड ४८ लाखमा ठेक्का लिएको हो।
उक्त सडक चार लेनको हुने छ भने दायाँबायाँ पैदल मार्ग, व्यवस्थित नाला, ग्रिन डिभाइडर, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राख्ने सम्झौता छ । महानगरले सडक वरपर रहेका मापदण्ड भित्रका घरटहरा हटाउन निर्देशन दिइसकेको छ भने बिजुलीका पोल लगायत अन्य संरचना हटाउनका लागि सरोकारवालसँग बैठक आह्वान गरेको छ । विश्व बैंकको सहयोगमा उक्त सडक स्तरोन्नति हुन लागेको हो।