काठमाडौं। ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा राखेका इन्टरनेटका तार हटाउन निर्देशन दिएको छ। महानगरले आज एक सूचना जारी गर्दै ७ दिनभित्र अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमलाई निर्देशन दिएको हो।
महानगरले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन सूचना जारी गरेको छ।
यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ।
तोकिएको समयमा तार नहटाए महानगर आफैंले हटाउने र कारबाही गर्ने चेतावनी समेत दिएको छ। सूचनामा भनिएको छ, ‘यदि ७ दिनभित्र सम्बन्धित निकायले यस्ता तार आफैं नहटाए ललितपुर महानगरले कारबाही गर्ने जानकारी गराइन्छ।’
