काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुहावटका कारण मेलम्चीको पानी घरघरका धारामा नपुगेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याए पनि चुहावटका कारण घरघरका धारामा नपुगेको बताएका हुन्।
पानीको अभाव पूर्ति गर्न सरकारले के योजना बनाइरहेको छ भन्नेबारे पनि उनले प्रश्न गरेका छन्। उनले भने, ‘काठमाडौंको ६५ प्रतिशत घरमा धारा छ तर पानी आउँदैन। धारा राखेबापत शुल्क भने राज्यले नियमित लिइरहेको छ।’
काठमाडौं उपत्यकाका धेरै घरमा जमिनमुनिको पानी र ट्यांकरबाट ल्याएको पानीले आवश्यकता पूर्ति गर्नुपर्ने बाध्यता रहेको पौडेलले बताए।
मेलम्चीबाट ल्याएको पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसक्दा ५० प्रतिशत चुहावट भएको उनको भनाइ छ। काठमाडौं उपत्यकाभित्र दैनिक ४८ करोड लिटर पानी आवश्यक भए पनि १७ करोड लिटर मात्रै आपूर्ति भइरहेको उनले बताए। मेलम्चीबाट ल्याएको पानीमध्ये चुहावटबाट बच्ने ८ करोड लिटर र पुरानो स्रोतको ९ करोड लिटर पानी मात्रै वितरण हुँदा अपुग भएको उनले बताए।