काठमाडौं। बुटवलको मुख्य बजार क्षेत्रको सडकमा धुलोले यात्रा गर्न नै असहज भएपछि नेकपा एमाले बुटवलले ध्यानाकर्षण गराएको छ। बुटवल बेलहिया सडक डिभिजन कार्यालय बुटवलका प्रमुख एवं डिभिजन सडक कार्यालय बुटवलका प्रमुख समक्ष एमालेले बिहीबार ज्ञापन पत्र बुझाउँदै जबाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न ध्यानाकर्षण गराएको हो।
व्यापारिक मार्ग विस्तार आयोजनाको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड निर्माणमा ठेकेदारले ढिला सुस्ती गर्दै आएको कारण सडकमा धुलो उडेर हाल हिड्ने नसक्ने अवस्था सिर्जना भएको छ। वर्षौसम्म सो सडक निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनमा पनि ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर रहेको छ। सम्बन्धित निकायले काम नगर्दा बुटवललाई लज्जित भएको भन्दै निर्माण कार्य तुरुन्त सुरु गर्न सडक डिभिजनको ध्यानाकर्षण गराएको एमाले बुटवलका अध्यक्षले जानकारी गराएका छन्।
बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साँढे ३ किलोमिटर सडक विस्तार आयोजना निर्माण नभएकै कारण सडक खाल्डाखुल्डी भएको हो। गत माघदेखि काम सुरु गर्ने गरी आयोजना सुरु गरिएको निर्माण कम्पनी द कञ्चनजंगा बिरुवा जेबी काठमाडौंले समयमा काम नगर्दा बुटवलको सडकमा चालक तथा यात्रुले सास्ती पाएका हुन्।
सम्झौता अनुसार २०७६ असोज १२ गते सम्पन्न गर्नुपर्ने भएको भएता पनि सडक सीमा भित्र घर भएकाहरूले पटक–पटक अदालतमा मुद्दा दिएकाले सडक विस्तार रोकिएको हो। ज्ञापनपत्र बुझ्दै आयोजना प्रमुख तथा सडक डिभिजन कार्यालय बुटवलका प्रमुखले अब तुरुन्तै निर्माण थाल्ने बताएका छन्। उनले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरेको बताउँदै अब काम सुरु नगरे कारबाही गर्ने बताए। ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएको सो आयोजनाको तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको छ।