काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने व्यवस्था गरेको छ। ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति पाउने व्यवस्था गरेको हो।
नियामक मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले अब आगामी वैशाख १ गतेदेखिक्षतिपूर्तिका लागि दाबी गर्न सकिने छ।
इन्टरनेट सेवा खरिद गरे पनि नचल्ने र चले पनि न्यून गतिमा चल्ने ग्राहकको व्यापक गुनासो रहँदै आएको छ । प्राधिकरणले त्यसलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कानुनी व्यवस्था गरेको हो । यसअघि २०७३ सालमा पनि यस्तै विनियमावली जारी गर्दै प्राधिकरणले फोन कल भइरहँदा काटिए त्यसको क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । पछिल्लो पटक जारी गरिएको विनियमावलीमा प्राधिकरणले इन्टरनेट नचले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था थप गरेको हो ।
क्षतिपूर्ति प्राप्त गर्न भने ग्राहक आफैँले माग दाबी गर्नुपर्नेछ । विनियमावलीअनुसार ग्राहकले मोबाइल डेटारभ्वाइस प्याक सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवाप्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको अवस्थामा क्षतिपूर्ति उपलब्ध हुनेछ ।
फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको हकमा भने सहरी क्षेत्रमा न्यूनतम चार घण्टादेखि ४८ घण्टा र ग्रामीण क्षेत्रमा न्यूनतम २४ घण्टादेखि ७२ घण्टाभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा क्षतिपूर्तिस्वरूप महसुलमा दामासाहीले मिनाहा गर्ने वा नचलेको सेवाको अवधि निःशुल्क थप गरी सम्बन्धित ग्राहकलाई जानकारी गराउनुपर्ने व्यवस्था विनियमावलीले गरेको छ ।