काठमाडौं। पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक बाहेक ऋणमा हेलिकप्टर चार्टर नगर्न सबैमा अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै ऋण गरिगरि हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका हुन्।
उनले आफू पनि राष्ट्रिय विपत्ति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने उल्लेख गरेका छन्। देशका विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागि जनताले आफैं हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा नगएको र त्यसका लागि क्षमा दिन समेत उनले आग्रह गरेका छन्।
उनले कुनै मन्त्री गाउँमा आउँदैमा खोलामा दुध नबग्ने, माटोमा सुन नफल्ने भन्दै घाँटी हेरेर हाड निल्न आग्रह गरेका हुन्।
मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत्ति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौं ।देशका विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागि जनताले आफैं हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गएका छैनौं । त्यसको लागि तपाईहरुसंग क्षमा चाहान्छु । ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरुमा दुध बग्दैन, माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौ, सामाजिक देखासिखी र विलासिता अन्त्य गरौं । धन्यवाद ।’