इलाम। इलामको रोङ गाउँपालिका–३ स्थित कुट्टिडाँडामा सुविधा सम्पन्न पार्किङस्थल निर्माण गरिने भएको छ।
पाथीभरा मन्दिरलाई लक्षितगरी निर्माण गर्न लागिएको पार्किङस्थलको कोशी प्रदेशका शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईले शिलान्यास गरेका हुन्।
पार्किङस्थल कोशी प्रदेशको २ करोड ८५ लाख ३४ हजार लागतमा निर्माण भएको छ। पार्किङस्थल निर्माणको जिम्मा किरात माई भगवती जेभी इलामले पाएको छ। उक्त पार्किङस्थलको २०८१ असार २८ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भइसकेको छ।
शिलान्यास गर्दै मन्त्री चापागाईले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। कार्यक्रममा प्रदेश सांसद समशेर राई, खिनु लङ्वा लिम्बु, शहरी विकास मन्त्रालयका सचिव मोहन चापागाई, गाउँपालिकाका अध्यक्ष स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, पूर्व सांसद धिरेन्द्र शर्मा, शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामका प्रमुख रिजनिस झाको उपस्थिति रहेको छ।
उक्त पार्किङस्थल निर्माण भएमा पाथीभरा आउने पर्यटकलाई सवारी पाकिङमा सहज हुनेछ। पाथीभरामा वर्षेनी ५ लाख भक्तजन भित्र्याएर १ करोड बढी आम्दानी गाउँपालिकाले गर्ने लक्ष्य लिएको छ।