काठमाडौं। नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिकाको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले सहयोग गर्ने भएको छ। उक्त फाउण्डेशनले समृद्ध सुस्ता निर्माणका लागि आवश्यक पर्ने क्षेत्रमा आवश्यक लगानी, सहकार्य र सहयोग गर्ने जानकारी गराएको छ।
यसका लागि गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र फाउण्डेशन स्पेनका अध्यक्ष जुसे मनुअल भिलानोभाबीच संस्थागत सम्बन्ध कायम, सहकार्य र समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष उपस्थितिमा लुम्बिनीमा सो समझदारी पत्रमा हालै हस्ताक्षर भएको हो।
सुस्ताको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रको विकासमा उक्त संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताएका छन्। साथै गाउँपालिकाअन्तर्गत रहेको भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया प्रस्थान गर्नुअघि कपाल मुण्डन गरी गेरुवस्त्र धारणा गरेको पुरातात्त्विक तथा ऐतिहासिक स्थल अनोमाघाटसहित यहाँका अन्य पर्यटकीय स्थलको विकास र प्रवर्द्धन, प्राविधिक विद्यालय, अस्पताल निर्माण, आँखा अस्पताल स्थापनालगायतका विकास योजनामा सहकार्य गर्ने समझदारी भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिएका छन्।