काठमाडौं। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गअन्गर्तत मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएको छ। पहिलो चरणमा सडक सीमाभित्रका रूख काट्न सुरु गरिएको छ। जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका खण्डमा रूख काट्न थालिएको हो।
आयोजनाका इन्जिनियर पुष्कर रेग्मीका अनुसार सडक विस्तार आयोजनाले हालसम्म १९७ वटा रूख काटेको छ। सडक विभाग आयोजना निर्देशनालयले पहिलो चरणमा मुग्लिङ–पोखरा सडकको आँबुखैरेनी–पोखरा खण्ड निर्माण अघि बढाएको हो। सडक विस्तारका क्रममा राइट अफ वेमा पर्ने एक हजार एक सय मिटरसम्मका सानाठूला रूख काटिसकिएको उनको भनाइ छ।
तिहारअगाडि बन्दीपुरभित्रका करिब एक सय मिटरसम्मका रूख हटाउने काम भयो, तिहारलगत्तै आँबुखैरेनी खण्डका रूख काट्न सुरु गरिएको छ। पहिलो चरणमा रूख काटेर सडक डिभिजन कार्यालयलाई बुझाउने र अन्य प्रक्रिया पूरा गरी काटिएका रूख डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।
राष्ट्रिय राजमार्गको स्तरोन्नति र विस्तार कार्यक्रमअन्तर्गत साविक दुई लेनमा रहेको मुग्लिङ–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्ने क्रममा जिल्लाभित्रका ६ हजार ७ सय ५० रूख काटिने डिभिजन वन कार्यालयका सहायक प्रमुख अरुण पराजुलीले बताए।
आँबुखैरेनी–पोखराको लम्बाइ ८० किमि छ। निर्देशनालयले आँबुखैरेनी–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ। पश्चिम खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड र पूर्वी खण्डको जिम्मा चीनकै कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ।