पर्सा। मागभन्दा बढी भएपछि गण्डक नहरबाट नेपालले पानी लिन छोडेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाका अनुसार, अक्टोबर २५ देखि नहरमा पानी आउन बन्द भएको हो।
किसानबाटै नहरमा पानी बन्द गर्न माग आएपछि नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले भारतीय पक्षलाई पत्राचार गरी नहरमा पानी बन्द गरिदिन आग्रह गरेपछि भारतले अक्टोबर २५ देखि नहरमा पानी बन्द गरेको हो।
यस वर्ष मनसुन बढी सक्रिय भएको तथा धेरै ठाउँमा धान बाली भित्र्याउन समय भइसकेकाले पनि किसानबाटै नहरमा पानी बन्द गर्न माग आएको उनले बताएका छन् । नहरको ब्लक नम्बर २, ८, ९ र १० का जल उपभोक्ता समितिहरूबाट लिखित रूपमा माग आएको उनले बताए। वर्षाले दुईपटक संरचनामा क्षति पुगे पनि नहरमा पर्याप्त पानी आएको थियो। नहरको ब्लक नम्बर १२ अर्थात् बारा जिल्लाको पूर्वी भेगसम्म पानी पुर्याइएको कुशवाहाले जानकारी गराएका छन्।