काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो ।
निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने सम्झौता गरेको छ ।
न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहज हुने निगमले जनाएको छ । साथै निगमलाई थप आयआर्जनको माध्यम सिर्जना हुने अपेक्षा पनि गरिएको छ । निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूबाट सम्झौता भएका वायुसेवा कम्पनीहरूको टिकट सहजै प्राप्त गर्न सकिने पनि निगमले जनाएको छ ।