बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्। नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत ढोरपाटन उपत्यकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले उत्तरगङ्गाको काम तत्काल अघि बढाउन भनेका हुन्।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको उत्तरगङ्गा विद्युत् आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले केन्द्र सरकारसँग अनुरोध गरेको छ।
ढोरपाटन जलाशययुक्त आयोजना गण्डकी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा साबित हुने भन्दै मुख्यमन्त्री अधिकारीले जलाशययुक्त आयोजना निर्माण भएपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा मात्र नभई बागलुङवासी र गण्डकी प्रदेश सरकारको आर्थिक अवस्थामा समेत सुधार आउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री अधिकारीले ढोरपाटन क्षेत्रमा पुग्ने सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना तयार गरेको समेत जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सालझन्डी–ढोरपाटन सडक निर्माणको काम सन्तोषजनक नभएको असन्तुष्टि प्रकट गर्दै मुख्यमन्त्री अधिकारीले तत्काल काम अघि बढाउन निर्देशन दिएका छन्।
उत्तरगङ्गा जलाशय आयोजनाबाट ८२६ मेगावाट विद्युत् निकाल्ने योजना रहेको भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन। ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ छ।