रुपन्देही । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युतको खपत बढाउन इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडी अभियान चलाइने बताएका छन् । शनिबार बुुटवलमा घिसिङले इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडीमा सहुलियतका कार्यक्रम सञ्चालन हुने बताएका हुन् ।
उनले अब घर–घरमा इन्डक्सन चुलो र सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियानमा प्राधिकरणले काम गरिरहेको जानकारी दिए। विद्युतको आन्तरिक खपत बढाउन उपभोक्ताका घरमा विद्युत क्षमता बढाउने र ठाउँ–ठाउँमा चार्जिङ स्टेशन बनाउने काम भइरहेको समेत उनले बताएका छन् ।
त्यस्तै उपभोक्ताहरुले आफ्नो घरमा विद्युतीय क्षमता बढाउन चाहेमा आवेदन दिएको एक महिनाभित्र स्थानीय कार्यालयमार्फत निःशुल्क क्षमता बढाइदिने काम थालिएको घिसिङको भनाइ छ ।
त्यस्तै निर्देशक घिसिङका अनुसार मुलुकभर ५० वटा इलेक्ट्रिक चार्जिङ सेन्टर बनाइन लागिएको छ । मुख्य शहर र राजमार्गलाई लक्षित गरी स्टेशन बनाउन लागिएको उनले जानकारी दिए । पछिल्लो समय विद्युतीय साधन किन्ने र चढ्नेको संख्या बढ्दै गएको अवस्थामा नीजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन चाहे निःशुल्क जडान गरिदिने सहमति भएको घिसिङले जानकारी दिए।