म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण गर्न शुरु गरिएको छ । रघुगङ्गा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु गरेको हो ।
पदमार्ग निर्माण कार्य शुरु भइसकेको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेको उनको भनाइ छ ।
सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो ।
कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म एक सय मिटर भन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना छ ।
आगामी फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए । गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सुर्योदय, धौलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।