काठमाडौं। पूर्वको मेवा कोरिडरमा १३२ केभी प्रसारण लाइन निर्माण हुने भएको छ। ऊर्जा सचिव एवं कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइनको टावर निर्माणको शिलान्यास गरेका हुन्।
मेवा नदीमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादन हुने बिजुलीलाई साझा प्रसारण लाइनमार्फत ल्याउन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले यो संरचना बनाउन लागेको हो।
ऊर्जा सचिव घिमिरेले गत शुक्रबार आयोजनास्थल ताप्लेजुङको मेवादेखि चाँगे (ढुंगेसाँघु) सम्म निर्माण हुने २० किलोमिटर उक्त प्रसारण लाइनको शुभारम्भ गरेका हुन् । यो लाइन निर्माण भएपछि यसबाट १५० मेगावाट बिजुली प्रवाह हुनेछ ।
घिमिरेले शिलान्यासका क्रममा ग्रीड कम्पनी र निर्माण व्यवसायीलाई आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिंदै मन्त्रालयले परेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त आयोजना अन्तर्गत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ मा १३२÷३३ केभी को मेवा सवस्टेशन तथा उक्त सवस्टेशनदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुङ्गेसाँघु सव–स्टेशनसम्म करिब २० किमी लामो १३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइनमा ६२ वटा टावर रहनेछन् ।