तनहुँ। तनहुँको बन्दीपुरमा सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३र११ केभीको सराङघाट सबस्टेसन निर्माण कार्य पूरा भएको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेशन निर्माण गरिएको हो।
आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ। यसमध्ये १ हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो ।