चितवन। चितवनको मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित गर्नका लागि बोलपत्र आह्वान गरेको हो।
यी सम्पूर्ण स्तरोन्नतिको काम ६ महिनाभित्रमा सम्पन्न गर्ने गरी क्यानले बोलपत्र आह्वान गरेको हो । धावनमार्गमा ग्रावेल बिछ्याएर सम्याइने छ । यस्तै अहिले भइरहेको तारबारलाई व्यवस्थित बनाइने छ ।
१ करोड ५० लाख हाराहारीमा स्तरोन्नति गर्न लागिएको बताइएको छ । भरतपुर महानगरपालिकाले केही वर्षयतादेखि सो विमानस्थल स्तरोन्नतिका लागि क्यानलाई अनुरोध गर्दै आएको थियो ।
महानगरपालिका प्रमुख रेनु दाहालले अहिले नै नियमित उडान नभए पनि चार्टर्ड र आपत्कालीन उडान गर्न मिल्ने गरी विमानस्थललाई व्यवस्थित बनाउन लागिएको बताएकी छन्।