तनहुँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा पुर्याउने बताएका छन्। बन्दीपुर गाउँपालिका–६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटनका क्रममा घिसिङले दुई वर्षभित्र सबै नेपालीलाई विद्युत सेवा पुर्याउने गरी प्राधिकरणले तयारी गरिरहेको जानकारी दिएका हुन्।
घिसिङले सरकारले निर्धारण गरेको हरेक नेपालीको घरमा विद्युत सेवा पुर्याउने लक्ष्य पूरा गर्न प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीमा व्यापक सुधार गरिरहेको बताए।
सो सबस्टेसनको घिसिङ र एसियाली विकास बैङ्क (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुस्वाले संयुक्त रूपमा सोमबार सबस्टेसनको उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको छ।
यसै क्रममा घिसिङले भने, “सबै नेपालीको घरमा विद्युत् पुर्याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौँ, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्। योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौँ।”
उद्घाटन कार्यक्रममा आवासीय नियोग प्रमुख कुस्वाले विद्युत् पहुँच विस्तारमा नेपालको प्रगति विश्वस्तरमै उत्कृष्टमा पर्ने बताए।