म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले बजार क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ। बजारलाई सफा र सुन्दर बनाउन नगरले विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा रहेका तारहरूलाई हटाउन सुरु गरेको हो।
विद्युत्का पोलहरूमा रहेका अनावश्यक तारहरूले बजारलाई नै कुरूप बनाउनुका साथै यत्रतत्र झुन्डिएका तारहरूले दुर्घटनाको जोखिम समेत बनाएको भन्दै नगरपालिकाले व्यवस्थापनको काम अघि बढाएको छ।
नेपाल विद्युत् प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासँग समन्वय गरेर बजार क्षेत्रका विद्युत् पोलमा रहेका अनावश्यक तारहरू हटाएर नगरलाई सफा र सुन्दर बनाउने अभियान थालिएको नगरप्रमुख सुरत केसीले बताए। १५ दिन भित्र बजार क्षेत्रका तारहरूलाई व्यवस्थित गर्ने उनको भनाइ छ।
नगर प्रहरीको नेतृत्वमा वडा नम्वर ७ र ८ वडाको बजार क्षेत्रमा रहेका विद्युत्का पोलहरूमा रहेका अव्यवस्थित इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारहरू १५ दिनभित्र हटाइने नगरपालिकाले जनाएको छ ।