काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन पहल गरेका छन्। उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिए।
निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने, काम छिटो सकेर उडान संचालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन। निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुप¥यो। सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि, बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस्। त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ, उनले बताए।
आयोजनाका अनुसार आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको छ। विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन्। ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ। वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ। त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ।
आइकाओ क्याटागोरीको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ। लगभग २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो।
चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तिन वटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ्ग गर्न सकिने बनाइएको छ। विमानस्थल निर्माणको लागि वि.सं. २०३२ सालमै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ। निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन्।