काठमाडौं। उत्तरी नाका रसुवागढी पुग्ने सडकमा प्रस्तावित फ्लाइओभरको डिजाइन परिवर्तन हुने भएको छ। सडक विभागले पर्याप्त बजेट नभएको भन्दै प्रस्तावित ६ सय मिटर लम्बाइको फ्लाइओभरलाई ३ सय मिटरमा झार्न लागेको हो।
हामी दिल फुकाएर खर्च गर्न सक्ने अवस्था छैनौ। ३ सय मिटर फ्लाइओभर बनाउदा मोड कायम नै हुन्छ तर गर्जो टार्न लागेका हौं, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, मैलुङ स्याफ्रुबेंसी सडकमा मोड नै मोड छन्। एउटा मात्र मोड सुधार गरेर हुदैन। त्रिशूली ३ ए जलविद्युत आयोजनाको पावरहाउस नजिकै फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरिएको हो।
गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेंसी र सुवागढी सडक योजनाले गरेको सर्भे अनुसार ६ सय मिटर फ्लाइओभर निर्माण हुनेछ। जसका लागि करिब १ अर्ब रुपैयाँ खर्चनु पर्नेछ। ३ सय मिटर घटाउदा करिब ५० करोड रुपैयामा उक्त फ्लाइओभर तयार हुनेछ। फ्लाइओभर निर्माण सुरु गरेको दुई वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको छ।
महानिर्देशक थापाका अनुसार जलविद्युत आयोजनाको पावरहाउस नजिकै अत्यन्त साँघुरो मोड छ। सडक विस्तार गर्नै नसक्ने अवस्था रहेका कारण फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरिएको हो। छिट्टै प्रक्रिया अघि बढ्ने छ।